ईश्वरको सामिप्य (#11139)

हे नाथ, हे प्रभु र मेरो विपत्तिमा मेरो स्वर्ग ! मेरो दुःखमा मेरो ढाल तथा मेरो आश्रय ! मेरो आवश्यकतमा मेरो शरणस्थल तथा आरक्ष र मेरो एक्लोपनमा मेरो साथी ! पीडामा मेरो सान्त्वना र एकान्तमा मेरो प्रिय मित्र ! मेरो दु:खको जलनलाई शान्त गर्ने र मेरा पापहरूलाई क्षमा गर्ने ! असीम उत्साह लिएर मन, बचन र कर्मले म तिमीसित याचना गर्दछु कि तिम्रो दिव्य एकताको यस चक्रमा ती सबै कुराहरूबाट तिमी मेरो रक्षा गर जुन तिम्रो इच्छाका विपरीत छन् र तिम्रो कृपा वृक्षको छायाँमा कलङ्करहित प्रवेश गर्नमा बाधा पुर्याउने मेरा सारा अवगुणहरूलाई हटाइदेऊ । 

हे प्रभु ! निर्बलहरूमाथि दया गर, रोगीहरूलाई रोगमुक्त गराऊ र तृषितहरूको तृष्णा मेटाइदेऊ । 

जनु हृदयमा तिम्रो प्रेमको अग्नि प्रज्जवलित भइरहेको छ त्यसलाई प्रफूल्लित राख र दिव्य प्रेम र प्रेरणाद्वारा त्यसको ज्वालालाई अझ तीव्र गराऊ । दिव्य एकताको मन्दिरलाई पवित्रताको आवरणद्वारा सजाऊ र मेरो शिरलाई तिम्रो कृपाको श्रीपेचद्वारा सुशोभित गरिदेऊ । 

तिम्रो कृपा सूर्यको कान्तिद्वारा मेरो मुखलाई आलोकित गर र तिम्रो पवित्र संघारको सेवा गर्न मलाई सहायता गर । 

तिम्रा प्राणीहरूप्रतिको प्रेमले मेरो हृदयलाई परिपूर्ण  गरिदेऊ र यस्तो वरदान देऊ कि म तिम्रो दयाको प्रतीक, तिम्रो अनुग्रहको चिन्ह बन्न र तिम्रा प्रियजनबीचको एकतालाई सम्वद्र्धन गर्न सकूँ; तिम्रो भक्त हुन, तिम्रो स्मरण गर्न र स्वयंमलाई बिर्सेर सदा–सर्वदा तिमीमा र तिम्रो कृपामा सन्तुष्ट रहन सकूँ । 

हे प्रभु, मेरा प्रभु ! आफ्नो कृपा र क्षमाशीलताको समीरलाई ममाथि बहन देऊ तथा आफ्नो सहायता र प्रेमको निर्झ र स्रोतबाट मलाई पिउन दऊे । 

तिम्रो रक्षा गर्ने पखेटाहरूको छायाँपुनि मलाई आश्रय प्रदान गर र तिम्रो सारालाई रक्षा गर्ने नेत्रद्वारा मलाई हेर । 

मेरो वाणीलाई तिम्रा मानिसहरूबीच तिम्रो नामको जयजयकार गर्न योग्य बनाऊ ताकि ठूला–ठूला सभाहरूमा मेरो आवाज गुञ्जियोस् र मेरा ओठहरूबाट तिम्रो प्रशंसाको मूल फुटोस् । 

साँच्चै नै, तिमी कृपाशील, स्तुत्य, सर्व–शक्तिमान्, सर्वोपरी हौ ।

-`Abdu'l-Bahá
-----------------------

ईश्वरको सामिप्य (#11140)

उनै हुन् करुणामय तथा सर्व–दयालु ! हे ईश्वर, मेरा ईश्वर ! तिमीले मलाई देखिरहेछौ, तिमी मलाई जान्दछौ; तिमी नै मेरा आश्रय हौ, तिमीले नै मलाई शरणमा लिएका छौ; मैले तिम्रा अतिरिक्त कसैको शरण चाहिन न कहिल्यै चाहने नै छु; म तिम्रो प्रेमको मार्गमा अतिरिक्त कुनै बाटोमा न त हिंडे न हिंड्ने नै छु । नैराश्यको घनघोर अन्धकारमय रातमा, मरो आँखा तिम्रै असीम कृपााका लागि आशाले भरिएको दृष्टिले ताक्दछ अनि उषाकालमा मेरो मुर्झाएको आत्मा तिम्रो सौन्दर्य एवं सर्व–व्यापी गुणको स्मरणद्वारा सशक्त एवं प्रफुल्लित हुन्छ । तिम्रो दयाको कृपावृष्टिले जसलाई सहायता गरिदिन्छ, त्यो एक थोपा नै किन नहोस् अनन्त सागरमा परिणत हुन्छ तथा एउटा अणुले पनि तिम्रो प्रेमले भरिएको दयावृष्टिको सहायता पायो भने, त्यो अवश्य नै एक अत्यन्त प्रकाशदायक ताराझैं चम्किने छ । 

हे तिमी पवित्रताको आत्मा, तिमी जो उदार प्रदाता हौ, तिम्रो मोहपाशमा बाँधिएको यस प्रदीप्त सेवकलाई आफ्नो सुरक्षित शरणमा आश्रय देऊ । अस्तित्वको यस जगत्मा तिम्रो प्रेममा उसलाई निश्चल रहनमा सहायता गर तथा यो पखेटा भाँचिएको पक्षीलाई तिम्रो अत्यन्त महान् उदारताद्वारा आफ्नो त्यस दैवीय गुँडमा पुर्याइकन आश्रय प्रदान गर जुन तिम्रो अजर–अमर दैवी वृक्षमा स्थित छ ।

-`Abdu'l-Bahá
-----------------------

